काठमाडौँ । मनहरी गाउँपालिका–९ भाबरबाट प्रहरीले १६२ किलो ७९४ ग्राम अवैध गाँजासहित दुई जना सवारी चालकलाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले भाबरस्थित भित्री सडकखण्डमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणमा गाँजा बरामद गरेको हो। प्रहरीले राति करिब २ः४५ बजे सवारीसाधन जाँच गर्ने क्रममा गाँजा फेला पारेको जनाएको छ। भाबरबाट खरङ्गातर्फ जाँदै गरेको बा.प्र.०१–०२५ च ०८७७ नम्बरको कार र ग २ च ६१५ नम्बरको पिकअपलाई प्रहरीले रोक्न खोज्दा पिकअप भाग्न खोजेको थियो। त्यसपछि प्रहरीले नियन्त्रणमा लिएर दुवै सवारीसाधन जाँच गरेको थियो।
जाँचका क्रममा कारको सिटभित्र प्लास्टिकले बेरेर लुकाइएको अवस्थामा १३ पोकामा राखिएको १६२ किलो ७९४ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका–५ धोबाहा बस्ने ५६ वर्षीय देव नारायण महतो र भरतपुर महानगरपालिका–२४ का ४८ वर्षीय टेकबहादुर दोङ रहेका छन्। महतो कार चालक हुन् भने दोङ पिकअप चालक हुन्। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा पिकअप चालकले अगाडि रहेको कारलाई स्कर्टिङ गर्दै लैजाने गरेको खुलेको छ। गाँजासहित दुवै चालक र सवारीसाधनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मनहरीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।