काठमाडाैँ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले चालु आर्थिक वर्षको साउनदेखि भदौ २१ गतेसम्म लागुऔषधसम्बन्धी ११ वटा मुद्दा दर्ता गर्दै १९ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार सीमा क्षेत्रबाट पैदल यात्रा गर्दै तथा शरीरमा लागुऔषध लुकाएर ओसारपसार गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा १३ जना पुरुष र ६ जना महिला नेपाली नागरिक रहेका छन्। यस अवधिमा प्रहरीले गाँजा, चरेस, हेरोइन, अफिम र नाइट्राभेटलगायत लागुऔषध बरामद गरेको जनाएको छ। बरामद सामग्रीमा १३० ग्राम गाँजा, ५ किलो २२५ ग्राम चरेस, ३ ग्राम १५० मिलिग्राम हेरोइन, १० किलो ३६४ ग्राम अफिम र १० थान नाइट्राभेट रहेका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रीपेन्द्रकुमार सिंहका अनुसार लागुऔषध कारोबारमा संलग्न व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही अघि बढाइएको छ। पछिल्लो समय लागुऔषध ओसारपसार नियन्त्रण गर्न कपिलवस्तुका सीमा क्षेत्रमा प्रहरीले निगरानी तथा सुरक्षा जाँचलाई थप कडाइ गरेको जनाएको छ।