काठमाडौँ । गृह मन्त्रालयले रसुवाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नरेन्द्र परियारलाई मन्त्रालय तानेर नयाँ प्रमुख जिल्ला अधिकारी पठाएको छ। आइतबार भएको मन्त्रीस्तरीय निर्णयअनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक कमलप्रसाद पाण्डेलाई रसुवाको नयाँ प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको हो।
रसुवाको नेतृत्व सम्हालेको करिब दुई महिना नबित्दै सीडीओ परियारलाई तानेर नयाँ जिम्मेवारी तोकिएको हो। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उद्धार, राहत र समन्वयको काम भइरहेका बेला जिल्लाको प्रशासनिक नेतृत्व परिवर्तन गरिएपछि यो विषय अहिले कर्मचारीवृत्तमा चर्चाको विषय बनेको छ।
विपद्को जटिल परिस्थितिमा विभिन्न समन्वय र उद्धार कार्यका क्रममा सम्पर्कमा नआएको भन्दै केही दिनअघि सीडीओ परियारको सार्वजनिक रूपमा तीव्र आलोचना भएको थियो। बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत व्यवस्थापनलाई थप चुस्त र प्रभावकारी बनाउने उद्देश्यले गृह मन्त्रालयले पाण्डेलाई रसुवा पठाएको जनाइएको छ।