काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण पुगेको क्षतिको पछिल्लो विवरण गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको छ। आईतवार सम्म विभिन्न जिल्लाहरूबाट १ हजार ३४२ वटा शव फेला परेका छन्। जसमध्ये चितवनबाट सबैभन्दा बढी ३६२, नवलपरासी पूर्वबाट २२२, नवलपरासी पश्चिमबाट २२०, नुवाकोटबाट १९५, रसुवाबाट १६३, धादिङबाट ६८, गोर्खाबाट ७४ र तनहुँबाट ३८ वटा शव फेला परेका हुन्। फेला परेका शवहरूमध्ये हालसम्म १८ वटाको मात्र सनाखत भई आफन्तलाई बुझाइएको छ।
विपद्का कारण अझै पनि करिब ४ हजार ९९६ जना नागरिकहरू सम्पर्कविहीन रहेका छन्। जिल्ला प्रशासन कार्यालयहरूबाट प्राप्त तथ्याङ्कअनुसार नुवाकोटमा करिब २ हजार ३४० र रसुवामा करिब १ हजार ९६७ जना नेपाली नागरिक बेपत्ता छन्। यसै गरी करिब १०० जना सुरक्षाकर्मी तथा कर्मचारी र करिब ५८९ जना विदेशी नागरिक अझै हराइरहेका छन्। हालसम्म १३ हजार ३९१ जना प्रभावित नागरिकहरूको सुरक्षा निकाय तथा विज्ञ टोलीमार्फत सकुशल उद्धार गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार बाढीमा परी घाइते भएका ६ हजार ०८३ जनाको विभिन्न अस्पतालहरू, नेपाली सेना र सशस्त्र प्रहरी बलका स्वास्थ्य टोलीमार्फत उपचार गरिएको छ। विस्थापित भएकाहरूका लागि रसुवामा ९६०, नुवाकोटमा २,७१४ र धादिङमा २३८ जना गरी कुल ३,९१२ जनालाई होल्डिङ सेन्टरहरूमा राखिएको छ। खोज, उद्धार र सुरक्षाका लागि नेपाल प्रहरीका ७ हजार ९७५, नेपाली सेनाका ९ हजार २८७ र सशस्त्र प्रहरी बलका ४ हनार २०३ गरी कुल २१ ह्जार ४६५ जना सुरक्षाकर्मीहरू फिल्डमा खटिएका छन्।
खोजी तथा राहत ढुवानीका लागि नेपाली सेनाका हेलिकप्टरले १ हजार ४९ पटक र निजी क्षेत्रका हेलिकप्टरले १२९ पटक उडान भरेका छन्। प्रभावित जिल्लाहरूमध्ये रसुवामा ७८%, नुवाकोटमा ९६.७% र धादिङमा ९९.८% घरधुरीमा विद्युत् आपूर्ति सुचारु भइसकेको छ। सञ्चारतर्फ नेपाल टेलिकमका १२० मध्ये ११७ र एनसेलका ७८ मध्ये ७६ टावरहरू सञ्चालनमा आइसकेका छन्। यसैबिच, नेपाल सरकारले राहतस्वरुप रसुवा र नुवाकोटलाई १–१ करोड, धादिङलाई ५० लाख र प्रभावित १५ पालिकालाई १३ करोड ५० लाख नगद रकम हस्तान्तरण गरिसकेको छ।
