काठमाडौं । थाइल्यान्डबाट हुलाकमार्फत नेपाल ल्याइएको गाँजाको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयबाट इटहरी पठाउन लागिएको पार्सल शङ्कास्पद लागेपछि प्रहरीले जाँच गरेको थियो। भदौ ९ गते गरिएको जाँचका क्रममा पार्सलभित्र ९ सय १० ग्राम थाइल्यान्डबाट ल्याइएको गाँजा फेला परेको प्रहरीले जनाएको छ।पार्सललाई निगरानीसहित इटहरी पठाएर लिन आउने व्यक्तिमाथि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। सो क्रममा दुई जना महिला पक्राउ परेका छन्। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१५ मिलनपथमा बस्दै आएकी १९ वर्षीया जेसिका तामाङ र सोही स्थानमा बस्ने २५ वर्षीया तारा मगर रहेका छन्।लागुऔषध नियन्त्रण ब्युरोका अनुसार उनीहरू बस्दै आएको डेरामा थप खोजी गर्दा करिब एक किलो थाइल्यान्डबाट आएको गाँजा बरामद भएको छ।
उक्त गाँजा लिन भारतबाट आएका दुई जनालाई समेत प्रहरीले पक्राउ गरेको छ। ब्युरोको विराटनगर शाखा र इलाका प्रहरी कार्यालय धरानबाट परिचालित टोलीले उनीहरूलाई पक्राउ गरेको हो।पक्राउ पर्ने भारतीय नागरिकमा केरलाका २४ वर्षीय सारोन सुनिल तिया र २२ वर्षीय अमल आर रहेका छन्।घटनाबारे पक्राउ परेका चारै जनामाथि इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।