काठमाडौं ।वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित एक क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाएको आरोपमा प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार गोल्डेन फिङ्गर गेमिङ जोन प्रालिमा नेपालीलाई प्रवेश गराई जुवा खेलाइरहेको सूचना पाएपछि टोलीले क्यासिनोमा छापा मारेको थियो।छापा मार्ने क्रममा जुवा खेलिरहेको अवस्थामा पर्साको सखुवाप्रसौनी गाउँपालिका–६ का ३६ वर्षीय जसवन्त यादव, सोही स्थानका ३० वर्षीय चन्दन सहनी, वीरगञ्ज–११ का ३९ वर्षीय ओमप्रकाश बैठा र स्याङ्जाको हरिनास गाउँपालिका–७ का ३६ वर्षीय प्रदीप पौडेल पक्राउ परेका छन्।यस्तै, नेपाली नागरिकलाई क्यासिनोभित्र प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा क्यासिनोका चार कर्मचारीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।पक्राउ पर्ने कर्मचारीमा वीरगञ्ज–१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरीको पिपरा गाउँपालिका–५ का ४९ वर्षीय जयदेव साह र वीरगञ्ज–१२ का ५० वर्षीय प्रदेशी साह रहेका छन्।पक्राउ परेका आठै जनामाथि घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।