काठमाडौं । ठमेलमा पैदल हिँडिरहेकी युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।
काठमाडौं महानगरपालिका–२६ स्थित ठमेलमा भएको घटनाको अनुसन्धानका क्रममा काठमाडौं–१४ कलंकीका ३० वर्षीय सालिन साहलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार साँझ पक्राउ गरेको हो।प्रहरीका अनुसार घटनाको समयमा देखिएको हुलियाभन्दा फरक अवस्थामा साह फेला परेका छन्। घटनाका बेला लामो कपालमा देखिएका उनको कपाल पक्राउ पर्दासम्म छोटो भइसकेको थियो।उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार पक्राउ परेका व्यक्ति घटनामा संलग्न व्यक्ति नै हुन् कि होइनन् भन्ने यकिन गर्न पीडितबाट सनाखत गराउने तयारी गरिएको छ। सनाखतपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनापछि साहले आफ्नो कपाल काटेर हुलिया परिवर्तन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।ठमेलमा युवतीमाथि दुर्व्यवहार गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना चर्चामा आएको थियो। भिडियोका आधारमा प्रहरीले घटनाको अनुसन्धान अघि बढाउँदै सम्भावित आरोपीको खोजी गरेको थियो।