काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव कायमै रहेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ अर्थात् नेपाल नजिक रहेकाले वर्षाको गतिविधि बढ्ने सम्भावना रहेको छ। महाशाखाले आइतबार बिहान जारी गरेको मौसम बुलेटिनअनुसार दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा अधिकांश स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। त्यस्तै, देशका अधिकांश पहाडी क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। मधेस तथा कोसी र सुदूरपश्चिम प्रदेशका धेरैजसो तराई क्षेत्रमा तथा बागमती, गण्डकी र लुम्बिनीका केही तराई भूभागमा पनि वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, कर्णालीको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
रातिको समयमा पनि देशभर सामान्यतया बदली रहने महाशाखाले जनाएको छ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भूभागका केही स्थानमा पनि राति मध्यम वर्षा हुन सक्नेछ। यस्तै, कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। रातिको समयमा कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम महाशाखाले आग्रह गरेको छ।