काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेश द्रुतमार्ग (फास्टट्र्याक) अन्तर्गत निर्माणाधीन ३,४८६ मिटर लामो महादेवडाँडा सुरुङमार्गको सफलतापूर्वक ‘ब्रेकथ्रु’ गरिएको छ ।
भूगर्भ इन्जिनियर पुष्पराज पौडेलका अनुसार, पहाडी क्षेत्रको अत्यन्तै जटिल भौगर्भिक बनावट र भौगोलिक चुनौतीहरूलाई चिर्दै सुरुङमार्ग छिचोल्ने कार्य सम्पन्न भएको हो। यो ऐतिहासिक सफलता नेपाली प्राविधिकहरू र चिनियाँ निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ’ को संयुक्त र अथक प्रयासबाट सम्भव भएको हो।
नेपालको पहिलो र लामो सुरुङमार्गका रूपमा रहेको यस महादेवडाँडा सुरुङमार्गको ब्रेकथ्रुले द्रुतमार्ग निर्माण कार्यलाई थप गति दिने अपेक्षा गरिएको छ। सुरुङ छिचोलिएसँगै अब बाँकी रहेका कंक्रिटिङ, फिनिसिङ र प्राविधिक जडानका कामहरूलाई तीव्रता दिइने आयोजनाले जनाएको छ।
फास्टट्र्याक निर्माणको जिम्मा पाएको नेपाली सेनाले निर्धारण गरेको लक्ष्यअनुरूप सुरुङमार्गहरूको निर्माण कार्य द्रुत गतिमा अघि बढिरहेको र यस ब्रेकथ्रुले आयोजना तोकिएकै समयमा सम्पन्न गर्न ठूलो मनोबल प्रदान गरेको जनाइएको छ।