काठमाडौँ । दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन तीनदिने औपचारिक भ्रमणका क्रममा शनिबार काठमाडौँ आएका छन् । नेपाल भ्रमणका क्रममा विदेशमन्त्री चोले आफ्ना नेपाली समकक्षी शिशिर खनालसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
भ्रष्टाचार तथा कूटनीतिक छलफलका क्रममा गत अगस्ट २६ (भदौ १०) मा रसुवा जिल्लामा आएको भीषण बाढी तथा पहिरोपछि बेपत्ता भएका दक्षिण कोरियाली नागरिकहरूको खोजी र उद्धारका लागि भइरहेका प्रयासहरूबारे गहन छलफल हुनेछ। रसुवास्थित जलविद्युत् आयोजना निर्माणस्थलमा आएको विनाशकारी बाढीका कारण कोरियाली कम्पनी दोसान एनर्बिलिटीका ६ जना र कोरिया साउथ–इस्ट पावरका ३ जना गरी कुल ९ जना कोरियाली कर्मचारी बेपत्ता रहेका छन्।
भ्रमणका क्रममा विदेशमन्त्री चोले नेपाली पक्षसँग बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्यलाई थप तीव्र र प्रभावकारी बनाउन आवश्यक साधनस्रोत परिचालन र समन्वयका लागि औपचारिक आग्रह गर्नुहुनेछ। साथै, उहाँले नेपालमा खटिएका कोरियाली विपद् व्यवस्थापन विज्ञ टोली, खोज तथा उद्धारमा संलग्न टोली र बेपत्ता भएका नागरिकका परिवारहरूसँग समेत प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम रहेको छ।
यसबाहेक, बाढी प्रभावित क्षेत्रको पुनःस्थापना, राहत, पुनर्निर्माण तथा नेपाल–दक्षिण कोरियाबिचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विषयमा दुवै देशका उच्च अधिकारीहरूबिच छलफल हुनेछ। विदेशमन्त्री चोको यो भ्रमणलाई सङ्कटको घडीमा दुई देशबिचको कूटनीतिक सहयोग र समन्वय बढाउने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।