काठमाडौँ । अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका चिनियाँ नागरिकलाई काठमाडौँस्थित चिनियाँ राजदूतावासको टोलीले भेटेको छ। उद्धारलगत्तै उपचारका लागि काठमाडौँ ल्याइएका ती नागरिकलाई शनिबार छाउनीस्थित नेपाली सेनाको वीरेन्द्र अस्पताल पुगेर दूतावासको टोलीले भेटघाट गरेको हो।
बाढीका कारण ११ दिनदेखि सुरुङभित्र फसेका ती नागरिकलाई नेपाली सेना र दक्षिण कोरियाली विज्ञ टोलीले शनिबार सकुशल उद्धार गरेको थियो। उद्धारपछि उनलाई तत्कालै छाउनीस्थित सैनिक अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको छ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार चिनियाँ दूतावासको प्रतिनिधिमण्डलले अस्पताल पुगेर उनको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी लिएको छ। हाल उपचाररत चिनियाँ नागरिकको स्वास्थ्य अवस्था स्थिर रहेको र चिकित्सकहरूको टोलीले निरन्तर निगरानी गरिरहेको प्रवक्ता बस्नेतले बताएका छन्।