काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीको ११ औँ दिनमा नुवाकोटको बेत्रावती बजारबाट एक ६४ वर्षीया वृद्धाको जीवितै उद्धार गरिएको छ। बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरबाट नुवाकोटको विदुर नगरपालिका–१० निवासी ६४ वर्षीया चन्द्रिका श्रेष्ठको शनिबार उद्धार गरिएको हो।
सशस्त्र प्रहरी बल, नेपालका प्रहरी निरीक्षक (इन्सपेक्टर) सुमन बिकको कमान्डमा खटिएको उद्धार टोलीले घरभित्रै अड्किएर अचेत अवस्थामा रहेकी श्रेष्ठलाई फेला पारी सफलतापूर्वक बाहिर निकालेको हो।
उद्धारलगत्तै श्रेष्ठलाई हेलिकप्टरमार्फत नुवाकोटको त्रिशूलीस्थित नेपाली सेनाको मैबल (मैथिल) ब्यारेकमा ल्याउने तयारी गरिएको छ।
सैनिक ब्यारेकमा प्रारम्भिक उपचार पश्चात् उनको अवस्थालाई हेरेर थप र प्रभावकारी उपचारका लागि काठमाडौँका ठूला अस्पतालमा ल्याइने सशस्त्र प्रहरीले जनाएको छ। बाढी प्रभावित क्षेत्रहरूमा अन्य सम्भावित बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्यमा सुरक्षा निकायहरू निरन्तर सक्रिय रहेका छन्।