काठमाडौँ । भारतबाट अवैध रूपमा नेपालतर्फ भित्र्याइँदै गरिएको ठूलो परिमाणको विद्युतीय सामग्री सशस्त्र प्रहरीले बरामद गरेको छ। महोत्तरीको सोनमा गाउँपालिका–६ मगरथानाबाट एप्पल कम्पनीको करिब २ करोड ४० लाख रुपैयाँ बराबरको एयरपड्स बरामद गरिएको हो।
सशस्त्र प्रहरी बलका अनुसार सशस्त्र प्रहरीको नम्बर ९ गण महोत्तरी, सीमा सुरक्षा गुल्म रघुनाथपुर र बोर्डर आउट पोष्ट खैरवनीबाट खटिएको संयुक्त गस्ती टोलीले शनिबार उक्त सामग्री बरामद गरेको हो। भारतबाट गैरकानुनी रूपमा नेपालतर्फ ल्याउँदै गर्दा १२ सय थान ‘एप्पल एयरपड्स’ नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) शैलेन्द्र थापाले जानकारी दिएका छन्।
प्रहरीको टोलीलाई दूरबाटै देख्नासाथ अवैध सामान बोकेर ल्याउने व्यक्तिहरू सामान छाडेर फरार भएका थिए। फरार तस्करहरूको खोजी कार्य जारी रहेको र बरामद गरिएका एयरपड्सलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।