काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सका पूर्वसञ्चालक रोहित गुप्ता २ करोड रुपैयाँ बराबरको बैंक जमानत बुझाएर कारागारबाट रिहा भएका छन् ।
दीपक भट्टसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण प्रकरणमा विशेष अदालतले गरेको थुनामा राख्ने आदेशलाई सर्वोच्च अदालतले बदर गर्दै गुप्तालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको संयुक्त इजलासले भदौ १७ गते उक्त आदेश गरेको हो ।सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा हिमालयन रि–इन्स्योरेन्सको करिब २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ भट्टको नाममा सेयर खरिद गर्न प्रयोग भएको देखिएको भन्दै कम्पनीका तत्कालीन सञ्चालकहरूमाथि समेत मुद्दा अघि बढाइएको थियो ।यसै प्रकरणमा विशेष अदालतले गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि उनले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । सर्वोच्चले विशेष अदालतको साउन २८ गतेको आदेश उल्टाउँदै धरौटीमा रिहा गर्ने निर्णय गरेपछि गुप्ताले बैंक जमानत बुझाएका हुन् ।डिल्लीबजार कारागार कार्यालयका एक अधिकृतका अनुसार विशेष अदालतबाट प्राप्त पत्रका आधारमा बिहीबार साँझ गुप्तालाई कारागारबाट रिहा गरिएको हो ।