काठमाडौं ।मानव बेचबिखनसम्बन्धी घटनामा संलग्न रहेको आरोपमा पर्सा प्रहरीले १९ वर्षपछि एक जना पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सखुवाप्रसौनी गाउँपालिका–४ निवासी ७५ वर्षीय अयुब मियाँ अन्सारीलाई पक्राउ गरिएको हो। उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा मुद्दा दर्ता रहेको थियो।प्रहरीका अनुसार २०६३ सालमा वैदेशिक रोजगारीको प्रलोभन देखाएर एक व्यक्तिलाई विदेश पठाउने क्रममा रकम लिएर भारत हुँदै अन्य मुलुक पुर्याई बेचबिखन गरेको आरोपमा अन्सारीसहितका व्यक्तिविरुद्ध उजुरी परेको थियो। घटनापछि उनीविरुद्ध मानव बेचबिखनसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको थियो।लामो समयदेखि फरार रहेका अन्सारीलाई खोजी गर्ने क्रममा प्रहरीले सखुवाप्रसौनी गाउँपालिका–४ बाट पक्राउ गरेको जनाएको छ।पक्राउ परेका अन्सारीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।प्रहरीले पुराना तथा फरार अभियुक्तको खोजीलाई निरन्तरता दिइरहेको जनाएको छ।