काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा एक शिक्षकको गोली प्रहार गरी हत्या भएको छ।
प्रहरीका अनुसार कालिका आधारभूत विद्यालयमा कार्यरत ३६ वर्षीय नरकुबिर खम्बु राईको बिहीबार साँझ गोली लागेर मृत्यु भएको हो। घटनास्थलमा उनको शव विद्यालय परिसरमा फेला परेको थियो।प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा हत्यामा भरुवा बन्दुक प्रयोग भएको आशंका गरेको छ। घटनाको अनुसन्धान तथा संलग्न व्यक्तिको खोजीका लागि इन्स्पेक्टरको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ।सदरमुकामबाट करिब १० घण्टाको दूरीमा रहेको घटनास्थलमा प्रहरी टोलीले आवश्यक मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि पठाउने तयारी गरेको छ। घटनामा संलग्न व्यक्तिको पहिचान तथा हत्याको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।