काठमाडौं । सुनसरीको इटहरीमा नेपाल विद्युत् प्राधिकरणका एक इन्जिनियर घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्।
इटहरी वितरण केन्द्रमा कार्यरत सातौँ तहका इन्जिनियर कृष्ण नारायण यादवलाई ५० हजार रुपैयाँ घुस लिएको अवस्थामा बिहीबार पक्राउ गरिएको अख्तियारले जनाएको छ।गार्मेन्ट उद्योगमा २० केभी क्षमताको विद्युत् लाइन जडानका लागि आवश्यक सहजीकरण गरिदिने भन्दै यादवले सेवाग्राहीसँग रकम मागेको उजुरी आयोगमा परेको थियो। उजुरीपछि अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई इटहरी उपमहानगरपालिका–९ बाट नियन्त्रणमा लिएको हो।अख्तियारका अनुसार यादवको साथबाट घुसबापतको ५० हजार रुपैयाँसँगै स्रोत नखुलेको थप १२ हजार ८५ रुपैयाँ समेत बरामद भएको छ।पक्राउ परेका यादवमाथि घुस तथा रिसवतसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न विशेष अदालतबाट म्यादसमेत थप गरिएको छ।आयोगले घटनाबारे थप प्रमाण तथा तथ्य संकलन गर्दै अनुसन्धान अघि बढाइरहेको जनाएको छ।