काठमाडौं । सिराहाको औरही गाउँपालिकामा सञ्चालन गरिएको माछापालनसम्बन्धी कृषि कार्यक्रमको रकम अनियमित रूपमा खर्च गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७८र७९ मा सञ्चालन भएको ‘साना व्यावसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम’ अन्तर्गत वास्तविक काम नगरी तथा निर्धारित मापदण्ड पूरा नगरी कागजी प्रक्रिया मिलाएर रकम भुक्तानी गरिएको पाइएको हो।गाउँपालिका र प्रगतिशील कृषक समूहबीच १५ लाख रुपैयाँमा सम्झौता भएको थियो। तर माछाका भुरा, दाना, चन तथा आवश्यक कृषि सामग्री वितरण नगरी काम सम्पन्न भएको देखाएर ८ लाख २ हजार ८ सय ७८ रुपैयाँ बढी भुक्तानी लिएको अनुसन्धानबाट खुलेको अख्तियारको दाबी छ।मुद्दामा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, तत्कालीन पशु शाखा प्रमुख रमेश नारायण शर्मा, लेखापाल आशिष कुमार कामती र प्रगतिशील कृषक समूहका अध्यक्ष राम भजन यादवलाई प्रतिवादी बनाइएको छ।अख्तियारले चारै जनाबाट जनही ८ लाख २ हजार ८ सय ७८ रुपैयाँ बिगो असुल गर्न माग गरेको छ। पशु शाखा प्रमुख शर्मामाथि सरकारी कागजातमा अनधिकृत रूपमा विवरण सच्याएको आरोपमा थप कानुनी कारबाहीको माग गरिएको छ।यस्तै, कृषक समूहका अध्यक्ष यादवलाई सरकारी कर्मचारीसँगको मिलेमतोमा गैरकानुनी लाभ लिन खोजेको भन्दै भ्रष्टाचारको मतियारको आरोप लगाइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले बताएका छन्।