काठमाडौं । हवाई इन्धन चोरी गरेको आरोपमा पक्राउ परेका ७ जनामध्ये ६ जनालाई पर्सा जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।
भदौ २१ गते पक्राउ परेका उनीहरूमाथि मंगलबार अदालतमा थुनछेक बहस भएको थियो।अदालतले चार जनालाई जनही २५ हजार रुपैयाँ तथा दुई जनालाई जनही ४५ हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर मल्लिकले जानकारी दिए।धरौटीमा रिहा हुनेमा उमेश राना मगर र मन्द सिंह लामा रहेका छन्। उनीहरूबाट जनही ४५ हजार रुपैयाँ धरौटी माग गरिएको छ। त्यस्तै असलम हवारी, रफिक मियाँ, सन्देश राना मगर र केशर राना सुनारलाई जनही २५ हजार रुपैयाँ धरौटी तोकिएको छ।यस प्रकरणका मुख्य आरोपित तथा पेट्रोल पम्प सञ्चालक सुनैन मियाँ भने अदालतमा उपस्थित नभएकाले उनको हकमा थुनछेकसम्बन्धी आदेश हुन बाँकी रहेको अदालत स्रोतले जनाएको छ।यसअघि भदौ २ गते अदालतले मियाँ बिरामी रहेको जनाउँदै अनुसन्धानका लागि पाँच दिनको समय दिएको थियो। तोकिएको अवधिमा अनुसन्धान पूरा भए मुद्दाको फाइल पेस गर्न र पूरा नभए उनलाई बाहिर राखेर अनुसन्धान अघि बढाउन अदालतले आदेश दिएको थियो।प्रहरीले अनुसन्धान पूरा गरी मुद्दा अदालतमा पेस गरे पनि मियाँ भने अदालतमा उपस्थित नभएको जनाइएको छ। त्यसैले उनको हकमा थुनछेक बहस हुन सकेको छैन।