काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा सहयोगमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सक्रिय रहने प्रतिबद्धता जनाएको छ।
प्रतिष्ठानका उपकुलपति अजयकुमार मिश्रले सार्वजनिक प्रतिबद्धता जारी गर्दै बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।विपद् प्रभावितलाई सहयोग गर्ने उद्देश्यले प्रतिष्ठानका शिक्षक तथा कर्मचारीले स्वेच्छिक रूपमा दुई दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन्।प्रतिष्ठानका कर्मचारीले व्यक्तिगत रूपमा समेत आर्थिक तथा भौतिक सहयोग गरिरहेको जनाइएको छ। आवश्यकता अनुसार आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिष्ठानले जनाएको छ।विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा तथा अन्य आवश्यक सहयोग पुर्याउन नेपाल सरकारका सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक जनशक्ति तथा सेवा परिचालन गर्न प्रतिष्ठान तयार रहेको बताइएको छ।