काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेशका बाँकी जिल्लामा अधिवेशन गराउने तयारी अघि बढाएको छ।
लामो समयदेखि सदस्यता तथा प्रतिनिधि छनोटलगायत विषयमा विवाद देखिएपछि रोकिएको अधिवेशन प्रक्रिया अघि बढाउन पार्टीले मधेशका सात जिल्ला र प्रदेशस्तरीय अधिवेशनको तयारी थालेको हो। यसैक्रममा मंगलबार पार्टी मुख्यालयमा मधेशका सात जिल्लामा अधिवेशन गर्ने मिति र पार्टी सभापति रवि लामिछानेको मधेश भ्रमणको कार्यतालिकाबारे छलफल भएको थियो। छलफलको संयोजन सहमहामन्त्री पुरुषोत्तम यादवले गरेका थिए। यद्यपि, बैठकबाट अधिवेशन र सभापतिको भ्रमणको निश्चित मिति भने सार्वजनिक गरिएको छैन। रास्वपाले पहिलो महाधिवेशन सम्पन्न गरिसकेको भए पनि मधेश प्रदेशका केही जिल्लाको अधिवेशन अझै हुन सकेको छैन। पर्सामा भने अधिवेशन सम्पन्न भएर हरि पन्तको नेतृत्वमा जिल्ला समिति गठन भइसकेको छ। तर बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा अधिवेशन रोकिएको छ।
पार्टीभित्रको सदस्यता र प्रतिनिधि विवाद, नेतृत्व चयनमा देखिएको गुटगत प्रतिस्पर्धा तथा सांसदहरूको हस्तक्षेपलाई अधिवेशन रोकिँदै आउनुको प्रमुख कारणका रूपमा नेताहरूले बताएका छन्। पुराना कार्यकर्ता र निर्वाचनअघि अन्य दलबाट रास्वपामा प्रवेश गरेका नेताबीच नेतृत्वका लागि देखिएको प्रतिस्पर्धाले पनि विवाद बढाएको बताइएको छ। रास्वपा मधेश प्रदेशका सभापति तपेश्वर यादवका अनुसार अन्य दलबाट ठूलो संख्यामा नेता–कार्यकर्ता पार्टीमा प्रवेश गरेपछि संगठन व्यवस्थापनमा चुनौती थपिएको हो। पहिले फरक–फरक दलमा प्रतिस्पर्धा गरेका व्यक्तिहरू एउटै पार्टीमा आएपछि नेतृत्वका विषयमा प्रतिस्पर्धा बढेको उनको भनाइ छ। मधेशका कतिपय स्थानमा नेतृत्व चयनकै विषयलाई लिएर विवाद चर्किँदा हात हालाहालको अवस्थासमेत आएको नेताहरू बताउँछन्। मधेशका १३६ पालिकामध्ये करिब १० देखि १५ वटा पालिकामा समेत अधिवेशन हुन नसकेको प्रदेश सभापति यादवले जानकारी दिएका छन्। ती स्थानमा भने तदर्थ समिति गठन गरिएको छ।
मधेशमा अधिवेशन प्रक्रिया अघि बढाउन पार्टी सभापति रवि लामिछाने आफैं मधेश जाने तयारीमा छन्। दुई दिनअघि केन्द्रीय सदस्यलाई प्रशिक्षण दिने क्रममा लामिछानेले आफू एक–दुई साताभित्र मधेश भ्रमणमा जाने र त्यहाँ अधिवेशनको वातावरण बनाउने बताएका थिए। यसैबीच, अधिवेशन हुन नसकेका स्थानमा देखिएका विवाद अध्ययन गरी प्रतिवेदन बुझाउन सहमहामन्त्री हरि ढकाललाई जिम्मेवारी दिइएको छ। तर पारिवारिक कारण तथा अन्य क्षेत्रीय कामका कारण आफूले मधेशमा अध्ययनको काम सुरु गर्न नसकेको ढकालले बताएका छन्। मधेशका नेताहरूका अनुसार पार्टीभित्र देखिएको राजनीतिक ध्रुवीकरणले पनि अधिवेशन सहज बन्न नसकेको हो। पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहको पक्षमा कार्यकर्ता तथा सांसदहरू विभाजित रहेको उनीहरूको दाबी छ।
मधेशका एक नेताका अनुसार प्रदेशका अधिकांश सांसदहरू प्रधानमन्त्री बालेन शाहनिकट रहेको दाबी गर्दै उनीहरूले अधिवेशनमा आफूअनुकूल नेतृत्व चयन गराउन खोज्दा विवाद उत्पन्न भएको बताएका छन्। सांसदहरूको प्रभावका कारण यसअघि तय भएका अधिवेशनसमेत प्रभावित भएको नेताहरूको भनाइ छ। अधिवेशनमा देखिएको अर्को विवाद आगामी स्थानीय तथा प्रदेश तहको निर्वाचनसँग जोडिएको छ। पालिका, जिल्ला तथा प्रदेश समितिको नेतृत्वमा पुगेका व्यक्तिले निर्वाचनमा उम्मेदवारको टिकट वितरण गर्ने बुझाइ कार्यकर्तामा रहेकाले नेतृत्व चयनमा बढी प्रतिस्पर्धा देखिएको एक मधेशी सांसदले बताएका छन्। रास्वपाले भने स्थानीय तहका उम्मेदवार छनोटका लागि छुट्टै प्रक्रिया बनाएको छ। गाउँपालिका तहमा उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि भदौ १ गतेदेखि आवेदन खुला गरिएको छ। ‘क्यान्डिडेट क्लब’मा दर्ता भएपछि मात्र उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन पाइने व्यवस्था पार्टीले गरेको छ। उम्मेदवार छनोट गर्दा व्यक्तिको क्षमता, संगठनात्मक सक्रियता, छवि, योग्यता तथा उम्मेदवार एकेडेमीमा गरेको प्रस्तुतिलगायत विभिन्न पक्षको मूल्यांकन गर्ने रास्वपाको तयारी छ। सभापति लामिछानेले पनि पार्टीको निर्धारित प्रक्रियाबाहिरबाट कसैलाई उम्मेदवार बनाउने आश्वासनमा विश्वास नगर्न कार्यकर्तालाई आग्रह गर्दै आएका छन्। यसअघि चितवनमा भएको पहिलो महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने क्रममा पनि मधेशमा सबैभन्दा बढी विवाद देखिएको थियो। मधेशबाट प्रतिनिधि चयनको विषय टुंगिन नसक्दा महाधिवेशनको मतदान प्रक्रिया प्रभावित भएको थियो।
महाधिवेशनका लागि कुल ४ हजार २११ प्रतिनिधि रहेको बताइएको थियो भने मधेशबाट अन्तिम समयमा ५४० प्रतिनिधिको विवरण सार्वजनिक गरिएको थियो। अहिले भने मधेशका नेताहरूले सकेसम्म सहमतिबाटै जिल्ला र प्रदेश नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताएका छन्। केही जिल्लामा सर्वसम्मत नेतृत्व चयनको सम्भावना देखिए पनि सबै ठाउँमा त्यस्तो अवस्था नरहेको प्रदेश सभापति यादवको भनाइ छ। उनका अनुसार नेतृत्व चयनमा कसैलाई पक्षपात गरेको आरोप नलागोस् भन्ने उद्देश्यले निर्वाचनमार्फत नेतृत्व चयन गर्नु उपयुक्त हुन सक्छ। ‘अन्तिम उपाय मतदान नै हो,’ उनले भनेका छन्। प्रदेश सभापति यादवले आफू पुनः सोही पदमा दोहोरिन चाहेको पनि बताएका छन्। प्रदेश सभापति पदमा निरन्तरता दिने उद्देश्यले आफूले पार्टीको महाधिवेशनमा प्रतिस्पर्धा नगरेको उनको भनाइ छ। रवि लामिछानेको मधेश भ्रमणको मिति अझै निश्चित नभएको र विवादित जिल्लाको अध्ययन गर्ने जिम्मेवारी पाएका सहमहामन्त्री हरि ढकालले समेत काम सुरु गरिनसकेको अवस्थामा तत्कालै अधिवेशन प्रक्रिया अघि बढ्न कठिन देखिएको मधेशका एक सांसदले बताएका छन्। चाडपर्वको समय नजिकिँदै गएकाले मधेशका बाँकी जिल्लाको अधिवेशन मंसिरतिर मात्रै सम्भव हुन सक्ने उनको अनुमान छ।