काठमाडौं । विशेष अदालतले प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।
लागुऔषधसम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेको आरोपमा अदालतले उनलाई दोषी ठहर गरेको हो।विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा न्यायाधीश हेमन्त रावलको इजलासले मंगलबार थापालाई घुस रिसवतसम्बन्धी कसुरमा दोषी ठहर गरेको हो। यद्यपि, अदालतले उनलाई के सजाय सुनाउने भन्ने विषयमा छुट्टै निर्णय गर्नेछ।थापा जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा शाखामा कार्यरत रहेका बेला सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा परेका थिए।आयोगका अनुसार थापाले लागुऔषधसम्बन्धी मुद्दामा पक्राउ नगर्ने तथा मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ माग गरेका थिए। घुस मागेको सूचनापछि अख्तियारको टोलीले उनलाई रकमसहित नियन्त्रणमा लिएको थियो।घटनापछि अख्तियारले गत जेठ १३ गते थापाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। मुद्दामा सार्वजनिक पदको जिम्मेवारीमा रहेका प्रहरी कर्मचारीले सेवाग्राहीबाट गैरकानुनी लाभ लिन खोजेको आरोप लगाइएको थियो।विशेष अदालतले अख्तियारको अभियोगमाथि सुनुवाइ गर्दै मंगलबार थापालाई दोषी ठहर गरेको हो। अब अदालतले उनीमाथि हुने सजाय तथा अन्य कानुनी विषयमा निर्णय गर्नेछ।