काठमाडौं । सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। दुवै सदनका बैठकमा विभिन्न विधेयक तथा प्रस्तावमाथि छलफल र प्रक्रिया अघि बढाउने कार्यसूची रहेको छ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। त्यस्तै, मन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछिन्। बैठकमा राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका समुद्री क्षेत्रको जैविक विविधताको संरक्षण तथा दिगो उपयोगसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिअन्तर्गतको सम्झौता पनि पेस गर्ने कार्यसूची छ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। यसैगरी, राष्ट्रियसभाको बैठक बिहान १०ः१५ बजे बस्नेछ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। सङ्घीय संसद्का दुवै सदनमा आज विभिन्न विधेयकलाई छलफल र समितिगत प्रक्रियामा अघि बढाउने विषयलाई प्राथमिकतामा राखिएको छ।