काठमाडौं । अमेरिकाले इरानविरुद्ध अहिलेसम्मकै ठूलो आर्थिक तथा वित्तीय अभियान अघि बढाउने घोषणा गरेपछि इरानले त्यसको सामना गर्न आफू पूर्ण रूपमा तयार रहेको जनाएको छ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानविरुद्ध ‘अहिलेसम्मकै सबैभन्दा ठूलो वित्तीय आक्रमण’ सुरु गर्न लागेको घोषणा गरेका थिए। त्यसको जवाफमा इरानका अर्थमन्त्री अली मदानिजादेहले अमेरिकी प्रतिबन्धको सामना गर्न आफूहरूसँग दुई वर्षको योजना रहेको बताएका छन्। मदानिजादेहले अमेरिकी प्रतिबन्धको योजना आफूहरूले लामो समयदेखि प्रतीक्षा गरिरहेको बताउँदै सरकार यसका लागि पूर्ण रूपमा तयार रहेको दाबी गरे। उनका अनुसार इरानसँग परिस्थितिलाई सामना गर्ने आफ्नै उपाय र रणनीति रहेको छ। उनले चीन र रुसले अमेरिकी कदम स्वीकार नगरेको दाबी गर्दै अन्य मुलुकले पनि अमेरिकी प्रतिबन्धको प्रतिरोध गर्ने विश्वास व्यक्त गरेका छन्।
चीनको विदेश मन्त्रालयले पनि प्रतिबन्ध र दबाब सिर्जना गर्ने रणनीतिले समस्या समाधान नगर्ने जनाएको छ। चीनले आफ्ना हितको रक्षा गर्न आवश्यक कदम चाल्ने स्पष्ट पारेको छ। अमेरिकाले पछिल्लो कदमअन्तर्गत इरानसँगको सबै आर्थिक सम्बन्ध अन्त्य गर्ने चेतावनी दिएको छ। अमेरिकी अर्थमन्त्री बेसेन्टका अनुसार इरानसँग आर्थिक कारोबार वा साझेदारी गर्ने कुनै पनि देश तथा संस्थालाई समेत अलग्याइनेछ। उनले इरानसामु अब दुईवटा विकल्प मात्र रहेको बताएका छन्—पूर्ण रूपमा विश्वबाट अलग हुने वा सामान्य आर्थिक अवस्थामा फर्किएर विश्व अर्थतन्त्रमा पुनः जोडिने। अमेरिकी अर्थ मन्त्रालयले इरानले प्रतिबन्ध छल्दै तेल कारोबार गर्न प्रयोग गर्दै आएका वित्तीय सञ्जाल, मध्यस्थकर्ता र कारोबारका माध्यम पहिचान गरेको जनाएको छ। डिजिटल सम्पत्ति, प्रविधि, सुन, हवाई तथा समुद्री यातायात क्षेत्रलाई लक्षित गर्दै प्रतिबन्धसम्बन्धी निर्णय गरिएको छ।
अमेरिकाले करिब ६० वटा संस्था, व्यक्ति तथा पानीजहाजमाथि समेत प्रतिबन्ध लगाएको जनाएको छ। बेसेन्टले यी कदमले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स तथा सरकारका लागि आम्दानीका स्रोतहरू बन्द गर्ने दाबी गरेका छन्। इरानसँग कारोबार वा सहकार्य गर्ने सरकार तथा संस्थाहरूलाई लक्षित गर्दै उनले यस्तो गतिविधिबारे आफूहरू अनभिज्ञ रहेको बहाना स्वीकार्य नहुने चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशका नेताहरूसँग फोनमार्फत इरानसँगको सम्बन्ध अन्त्य गर्न आग्रह गर्ने पनि उनले बताएका छन्। यसैबीच, इरानले युद्ध जारी रहे क्षेत्रबाट हुने सबै तेल निर्यात रोक्ने चेतावनी दिएको छ। इरानले हर्मुज जलडमरूमध्यबाट अनुमति बिना कुनै पनि पानीजहाज सञ्चालन नगर्नसमेत चेतावनी दिएको बताइएको छ। विश्वको करिब पाँचौँ भाग तेल तथा ग्यास यही साँघुरो जलमार्ग हुँदै ओसारपसार हुने गर्छ। तर युद्ध सुरु भएपछि इरानले यसको आवागमन प्रभावकारी रूपमा अवरुद्ध गरेको र त्यसका कारण विश्व बजारमा तेलको मूल्य बढेको समाचारमा उल्लेख छ।
प्रतिबन्धको प्रभावबारे प्रश्न
अमेरिकाले घोषणा गरेको नयाँ प्रतिबन्ध कति प्रभावकारी हुन्छ भन्नेबारे भने केही अर्थविद्ले प्रश्न उठाएका छन्। क्यापिटल इकोनोमिक्सका प्रमुख जलवायु तथा वस्तु बजार अर्थशास्त्री डेभिड अक्सलीले इरानको तेल निर्यातमा अमेरिकी नौसैनिक नाकाबन्दीले पहिल्यै प्रभाव पारिरहेको अवस्थामा नयाँ आर्थिक प्रतिबन्धको तत्काल प्रभाव सीमित हुन सक्ने बताएका छन्। उनका अनुसार इरानले उत्पादन गर्ने तेलमध्ये करिब ९० प्रतिशत चीन जाने गरेको छ। चीनले विगतमा पनि अमेरिकी प्रतिबन्धलाई पूर्ण रूपमा स्वीकार नगरेकाले यसपटक पनि अमेरिकी दबाबबाट पछि हट्ने सम्भावना कम रहेको उनको भनाइ छ। इरान युद्धको आर्थिक असर अमेरिकासहित विश्वभर देखिन थालेको छ। तेलको मूल्य बढ्दा दैनिक उपभोग्य वस्तुको लागत बढ्ने चिन्ता समेत बढेको छ। अमेरिकामा पेट्रोलको मूल्य प्रतिग्यालोन ४ डलरभन्दा माथि पुगेको छ। नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि अमेरिकी मतदाताका लागि महँगी र दैनिक जीवनयापनको खर्च प्रमुख चिन्ताका विषय बनेका छन्। सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य मापन गर्ने ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९२ डलर पुगेको थियो। यसअघि अमेरिकी सरकारले बन्डको माग बढाएर ऋणको ब्याजदर घटाउने उद्देश्यले बन्ड बजारमा हस्तक्षेप गर्ने र थप सरकारी ऋणपत्र फिर्ता खरिद गर्ने योजना पनि सार्वजनिक गरेको थियो।