काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभाबाट विश्वासको मत लिने समय पुनः सारिएको छ। सत्ता साझेदार दलहरू राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच विश्वासको मत दिने विषयमा तीव्र विवाद र आन्तरिक मतभेद सिर्जना भएपछि तोकिएको समयमा बैठक बस्न नसकी समय सारिएको हो।
यसअघि मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ः०० बजे प्रदेश सभाको बैठक बोलाइएको थियो। तर दलहरूबिच सहमति जुट्न नसकेपछि उक्त बैठक बस्न नसकी साँझ ५ः०० बजेका लागि समय तोकिएको थियो।
साँझ ५ः०० बजे तय गरिएको समयमा पनि सत्तारुढ र साझेदार दलहरूबिचको विवाद समाधान हुन नसकेपछि अन्ततः विश्वासको मत लिने समय राति ८ः०० बजेका लागि पु¥याइएको छ। मुख्यमन्त्री थापालाई बहुमत सिद्ध गर्न आवश्यक मत जुटाउने प्रयासमा शीर्ष नेताहरूबिच छलफल र परामर्श जारी रहेको बताइएको छ।