काठमाडौँ । महाकुलुङ गाउँपालिका–२ बोदेलस्थित हुंगा खोला जलविद्युत् आयोजनामा प्रयोग हुने डिजेल चोरी गरी बिक्री गरेको आरोपमा चार चालकसहित पाँच जना पक्राउ परेका छन्।
प्रहरीले चोरीको डिजेल खरिद गर्ने एक जनालाई समेत नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार आयोजनामा कार्यरत चालकहरूले इन्धन चोरी गरी बजार मूल्यभन्दा कममा बिक्री गर्ने गरेको सूचना प्राप्त भएपछि अनुसन्धान अघि बढाइएको थियो। सोही क्रममा चोरीको डिजेल खरिद गर्ने व्यक्तिसहित चार जना चालकलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट ६६५ केजी अर्थात् करिब ८ सय लिटर डिजेल बरामद गरेको जनाएको छ। पक्राउ परेकाविरुद्ध चोरीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ।
पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–८ का ४२ वर्षीय श्यामबहादुर जोगी रहेका छन्। त्यस्तै, गोलन्जोर गाउँपालिका–२ सिन्धुलीका २४ वर्षीय केशव कार्की र सोही स्थानका २४ वर्षीय लीलाबहादुर चौहान, सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–१ का २५ वर्षीय यामबहादुर बस्नेत तथा सोही गाउँपालिका–६ का २४ वर्षीय आकाश राई पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निर्मल थापाका अनुसार पक्राउ परेका चार जना जलविद्युत् आयोजनामा चालकका रूपमा कार्यरत थिए। प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएपछि चोरीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धानका लागि सोलुखुम्बु जिल्ला अदालतबाट पहिलोपटक पाँच दिनको म्याद थप गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।