काठमाडौं । खाना पकाउने ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न माग गर्दै विद्यार्थीहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।
लामो समयदेखि देखिएको ग्यास अभावका कारण विद्यार्थी तथा सर्वसाधारण समस्यामा परेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले मंगलबार त्रिचन्द्र क्याम्पसअगाडि प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागी विद्यार्थीहरूले सरकारको नीतिका कारण ग्यासको अभाव चर्किएको आरोप लगाउँदै तत्काल सहज रूपमा ग्यासको बिक्री–वितरण गर्ने व्यवस्था मिलाउन माग गरेका छन्। उनीहरूले खाली ग्यास सिलिन्डरसहित सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए।
काठमाडौंमा अध्ययनरत विद्यार्थी तथा विपन्न वर्ग ग्यास अभावका कारण थप समस्यामा परेको विद्यार्थी मनोज भण्डारीले बताए। ग्यास नपाउँदा कतिपय विद्यार्थी भोकै बस्नुपर्ने, होटलमा गएर खाना खान आर्थिक कठिनाइ हुने र ग्यास खोज्न जाँदा यातायात खर्चसमेत धान्न नसक्ने अवस्था रहेको उनले बताए। उनले विगतमा डिलरमार्फत सहज रूपमा वितरण हुँदै आएको ग्यास सरकारले आफ्नै प्रणालीबाट वितरण गर्न खोज्दा अभाव बढेको, लामो लाइन बस्नुपर्ने अवस्था आएको र सर्वसाधारणले थप सास्ती खेप्नुपरेको दाबी गरे। विद्यार्थीहरूले ग्यासको लाइनसम्बन्धी समस्या तत्काल समाधान गर्न तथा विद्यार्थी र सर्वसाधारणलाई राहत तथा सहुलियत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। प्रदर्शनका क्रममा उनीहरूले ‘विद्यार्थीको हातमा कलम चाहिन्छ, खाली सिलिन्डर होइन’, ‘किताब बोकेर पढ्ने कि सिलिन्डर बोकेर लाइन बस्ने ?’ र ‘नो लाइन भनेको होइन र सरकार, ग्यासमा किन यति लामो लाइन ?’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।