काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य रञ्जित कर्णले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउने निर्णयबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्।
कर्णले २०६२/६३ को जनआन्दोलनको मूल एजेन्डामै धर्मनिरपेक्षता नरहेको दाबी गर्दै आम नेपाली जनतालाई झुक्याएर धर्मनिरपेक्षता ल्याइएको भन्ने प्रश्न आज पनि उठिरहेको बताए।
उनका अनुसार नेपाल वैदिक सनातन हिन्दु राष्ट्रका रूपमा रहँदा पनि धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र साम्प्रदायिक सहअस्तित्वको बलियो पहिचान कायम थियो। धर्मनिरपेक्षता घोषणा भएपछि भएका विभिन्न घटनाक्रमले समेत त्यसको प्रभाव र परिणामबारे गम्भीर बहस तथा समीक्षा आवश्यक रहेको उनको भनाइ छ।
कर्णले वैदिक सनातन हिन्दु राष्ट्रको पहिचान पुनःस्थापित गर्दा त्यसलाई केवल धार्मिक विषयका रूपमा मात्र हेर्न नहुने बताए। उनका अनुसार यसले आर्थिक समृद्धिसँगै राष्ट्रिय एकता, सामाजिक सद्भाव र साम्प्रदायिक सहिष्णुता थप मजबुत बनाउन सक्ने सम्भावना छ।
उनले धर्म, संस्कृति र राष्ट्रिय पहिचानसँग जोडिएका विषयमा राजनीतिक दलहरूले जनभावना बुझेर खुला बहस गर्नुपर्नेमा जोड दिए। ‘नेपालको मौलिक पहिचान, सामाजिक संरचना र ऐतिहासिक परम्परालाई आधार बनाएर राज्यको स्वरूपबारे पुनर्विचार गर्ने समय आएको छ,’ कर्णको भनाइ छ।