काठमाडौँ । जापानमा नदीमा पौडी खेल्ने क्रममा एक नेपाली युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा एकिआन लिम्बु रहेको बताइएको छ।
आइची प्रिफेक्चरको तोयोता सहरस्थित याहागी नदीमा पौडी खेल्ने क्रममा लिम्बु शनिबार साँझदेखि बेपत्ता भएका थिए। उनको खोजी गर्ने क्रममा आइतबार शव फेला परेको हो। लिम्बु करिब १५ जना साथीहरूसँग नदी क्षेत्रमा घुम्न तथा रमाइलो गर्न पुगेका थिए। सोही क्रममा पौडी खेलिरहेका उनी अचानक बेपत्ता भएका थिए। जापानी प्रहरीले लिम्बुले पौडी खेल्दा लाइफ ज्याकेट नलगाएको जनाएको छ। घटनाको कारण तथा दुर्घटनाको विस्तृत परिस्थितिबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। मृतक लिम्बुको जापानस्थित बसोबासको ठेगाना भने प्रहरीले सार्वजनिक गरेको छैन।