काठमाडौं । काठमाडौंमा खाना पकाउने ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन काठमाडौं उपत्यकाका विभिन्न ७ स्थानबाट ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने भएको छ। निगमले जिल्ला प्रशासन कार्यालय, काठमाडौंको समन्वयमा ग्यास उद्योगीबाट तोकिएका स्थानमा सम्बन्धित ब्रान्डका सिलिन्डर बिक्री गर्ने व्यवस्था मिलाएको जनाएको छ।
निगमका अनुसार भोलि २०८३ साउन ३१ गते आइतबार निगमको टेकु परिसरबाट नेपाल, एपी, एभरेस्ट/सुगम, श्रीराम र सगर ब्रान्डका ग्यास बिक्री गरिनेछ। त्यसैगरी पशु सेवा शाखा, चापली, बूढानीलकण्ठबाट नेपाल, एपी र भानु ब्रान्डका ग्यास उपलब्ध हुनेछन्।
राधास्वामी, कीर्तिपुर परिसरबाट नेपाल, एपी, एभरेस्ट/सुगम, श्रीकृष्ण, साईबाबा र श्रीमाया ब्रान्डका ग्यास बिक्री हुने निगमले जनाएको छ। नयाँ बजारस्थित जुडो हल परिसरबाट नेपाल, एपी र ओम तथा तारकेश्वर नगरपालिकाको परिसरबाट नेपाल र एचपी ब्रान्डका ग्यास बिक्री गरिनेछ।
त्यस्तै चन्द्रागिरि नगरपालिका कार्यालयबाट लोकप्रिय, नेपाल, एपी र श्रीमाया ब्रान्डका ग्यास तथा राष्ट्रिय क्षयरोग केन्द्र, ठिमीबाट नेपाल, एपी, सूर्य, सगर, एभरेस्ट/सुगम र एसटीसी ब्रान्डका ग्यास बिक्री–वितरण गरिनेछ।
निगमले एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको र सम्बन्धित ग्यास उद्योगीहरूले आफ्ना विक्रेतामार्फत नियमित रूपमा बिक्री–वितरण गरिरहेको जनाएको छ। यद्यपि ग्यास प्राप्त गर्न नसकी अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गरी तोकिएका स्थानबाट थप बिक्रीको व्यवस्था गरिएको निगमको भनाइ छ।
ग्यास खरिद गर्न उपभोक्ताले आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ। निगमका अनुसार तोकिएका बिक्रीस्थलबाट बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म ग्यास खरिद गर्न सकिनेछ।
निगमले उपभोक्तालाई निर्धारित बिक्रीस्थलमा आवश्यक परिचयपत्रसहित उपस्थित भई सहज रूपमा ग्यास खरिद गर्न अनुरोध गरेको छ।
