काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सहज रुपमा मल आपूर्तिका लागि मन्त्रालय गम्भीर रहेको बताएकी छन् ।
बिहीबार मन्त्रालयमा आफ्नो सय दिनको कार्यकालमा भएका कामकारबाहीका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले जनतालाई मल सहज रूपमा उपलब्ध गराउनका लागि मन्त्रालयले सबैभन्दा बढी समय मल क्षेत्रमा खर्चिरहेको र यसका लागि एउटा डेडिकेटेड टोली खटिएको बताएकी हुन् ।
उनले केन्द्र सरकारले मल आपूर्ति गर्ने र प्रदेश तथा स्थानीय सरकारले वितरणको काम गर्ने गरी समन्वय भइरहेको जानकारी दिइन् । मलको कालोबजारी रोक्न क्युआर कोड र छुट्टै टोली परिचालन गरिएको भन्दै उनले गुल्मी र कपिलवस्तुलगायतका ठाउँमा जनताको सूचनाका आधारमा छापा मारी मल बरामद समेत गरिएका बताइन् । उनले खसीको मासुको मूल्य वृद्धिका बारेमा मन्त्रालयले अनुगमन गरिरहेको धारणा राखिन् ।