काठमाडौँ। सोमबारको रात खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बसेका सयौं सुकुमवासीका लागि निकै लामो बन्यो। कारण थियो–भोक।
बेलुकीको खाना आएन। त्यसपछि रातभर कसैले पेटभर खान पाएनन्। भोकै निदाउन खोजे पनि पेटको पीडाले धेरैको आँखामा निद्रा परेन। बिहान भएपछि उनीहरू हातमा प्लेकार्ड लिएर होइन, आफ्नै पेटको आवाज लिएर विरोधमा उत्रिए। रातभर भोकै बस्यौं। बिहानसम्म पनि कसैले हाम्रो अवस्था हेरेन। अब विरोध गर्नुबाहेक अर्को विकल्प नै रहेन, होल्डिङ सेन्टरमा बसिरहेका एक सुकुमवासीको गुनासो छ। खरिपाटीको यो होल्डिङ सेन्टर अहिले ९९ परिवारका २०७ जनाको अस्थायी आश्रय बनेको छ। सरकारकै निर्णयअनुसार गत वैशाखमा बागमती र मनोहरा नदी किनारबाट हटाइएका उनीहरू यहाँ बसिरहेका छन्। तर अहिले उनीहरूको सबैभन्दा ठूलो चिन्ता छाना होइन, दुई छाक खाना बनेको छ।
संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका उपाध्यक्ष पवन गुरुङ पनि यही अवस्थाबाट व्यथित छन्। उनका अनुसार उनी सोमबार बिहान खाना खाएर बाहिर निस्किएका थिए। फर्किंदा भने होल्डिङ सेन्टरमा खाना वितरण बन्द भइसकेको थियो। साँझदेखि खाना नै नदिएको रहेछ। अहिले त बस्ने ठाउँको समेत खोजी गरिरहेको छु,उनले भने। भोकको सबैभन्दा ठूलो असर कमजोर शरीर भएकाहरूमा परेको छ। साना बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीहरू रातभर खाना नपाएर बसे। कतिपयले खाना खाएपछि मात्रै सेवन गर्नुपर्ने औषधिसमेत लिन सकेनन्। एक सुकुमवासीको आवाजमा निराशा स्पष्ट सुनिन्थ्यो, ूहामीभन्दा बढी दुःख त बिरामी र बुढाबुढीले पाए। पेट खाली भएपछि औषधि पनि खान मिलेन।
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले असार २४ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिइसकेको छ। तर त्यहाँ बसिरहेका परिवारहरू भन्छन्–सरकारले दिएको आश्रयमै बसिरहेको बेला आधारभूत आवश्यकतासमेत पूरा नहुनु सबैभन्दा ठूलो विडम्बना हो। भोकको पीडाले आवाज उठाउन बाध्य बनेका सुकुमवासीहरू विरोधमा उत्रिएपछि होल्डिङ सेन्टर परिसरमा सुरक्षाकर्मी परिचालन गरिएको छ। छाना गुमाएपछि उनीहरूले अस्थायी बास त पाए, तर अहिले उनीहरूलाई सबैभन्दा ठूलो प्रश्नले सताइरहेको छ–आज साँझ फेरि खाना आउला कि नआउलारु