काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपद् व्यवस्थापन तथा पुनर्निर्माणका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ।
बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बस्नेछ।विपद् व्यवस्थापन, पुनर्निर्माण र भविष्यमा हुने जोखिम न्यूनीकरणका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने विषयलाई अघि बढाउने उद्देश्यले बैठक आयोजना गरिएको रास्वपाले जनाएको छ।भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी–पहिरोपछि बसेको सर्वदलीय बैठकले विपद्को दीर्घकालीन समाधान र पूर्वतयारीका विषयमा १० बुँदे साझा संकल्प पारित गरेको थियो। उक्त संकल्पमा विपद् आएपछि तत्काल राहत तथा उद्धारमा मात्रै केन्द्रित नभई दीर्घकालीन जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिइएको थियो।रास्वपाका अनुसार विपद्पछिको पुनर्निर्माण, जलवायु परिवर्तनसँग अनुकूलन, राष्ट्रिय विपद् नीतिमा आवश्यक सुधार तथा सरकारका कामको निरन्तर सुझाव, सहकार्य र अनुगमनका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने सहमति भएको थियो।त्यही सहमतिलाई कार्यान्वयन गर्ने क्रममा संयन्त्र गठनको प्रक्रिया तत्काल अघि बढाउने विषयमा छलफल गर्न आजको बैठक आयोजना गरिएको हो।रास्वपाले बैठकमा सहभागी हुन सम्बन्धित राजनीतिक दल तथा उनीहरूका प्रतिनिधिहरूलाई आग्रह गरेको छ।