काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दैछ।
बैठक बिहान ११ बजे सिंहदरबारमा आयोजना हुने तय भएको छ।बैठकमा प्रतिनिधिसभाको आगामी बैठक बोलाउने मिति तथा त्यसमा प्रस्तुत गरिने सम्भावित कार्यसूचीबारे छलफल हुने बताइएको छ।यसअघि सोमबार नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालसँग भेट गरेका थिए। भेटका क्रममा उनले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई थप प्रभावकारी बनाउन प्रतिनिधिसभाको बैठक तत्काल आह्वान गर्न आग्रह गरेका थिए।बाढीबाट प्रभावित क्षेत्रको पछिल्लो अवस्था, उद्धार तथा राहतका प्रयास र त्यसमा राज्यको भूमिकाबारे संसद्मा छलफल आवश्यक रहेको भन्दै बैठक छिटो बोलाउनुपर्नेमा उनले जोड दिएका थिए।आजको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधिसभाको आगामी बैठकको मिति र सम्भावित कार्यसूची टुंगो लगाउने अपेक्षा गरिएको छ।