काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले रसुवा बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङ (टनेल) भित्र फसेका नागरिकहरूको उद्धारका लागि सुरुङको माथिबाटै खनेर र ड्रिल गरेर भए पनि भित्र पुग्ने प्रयास भइरहेको जानकारी गराएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (ल्म्च्च्ःब्) द्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राज्यका सम्पूर्ण संयन्त्रहरू यसतर्फ केन्द्रित रहेको बताएका हुन्।
पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री गुरुङले भने, ‘हाम्रो नयाँ विचार के आएको छ भने टनेलको माथिल्लो भागबाट पनि खनेर बरु त्यसलाई ड्रिल गरेर केही गर्न सक्यौँ भने पनि बचाउन सकिने सम्भावना छ कि भनेर राज्यले हरेक विकल्पमा काम गरिरहेको छ।’
सुरुङभित्र फसेका नागरिकहरू जीवितै उद्धार हुन सक्ने आशा अझै नमारेको गृहमन्त्री गुरुङले जिकिर गरे। ‘अझै पनि हामीले आशा मारेका छैनौँ। माथिबाट पनि छिर्न सकिन्छ कि, वा उहाँहरू त्यहीँको पानी खाएर भए पनि बसिरहनुभएको छ कि भन्ने अपेक्षा छ। हाम्रा तीनवटै सुरक्षा संयन्त्र अझै पनि जोखिम मोलेर काम गरिरहेका छन्,’ उनले थपे।