काठमाडौँ । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोमा परी मृत्यु भएका तर पहिचान खुल्न नसकेका शवको व्यवस्थापन सुरु गरिएको छ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले सोमबारदेखि गोकर्णेश्वर नगरपालिका–५, दक्षिणढोका नजिकैको सरकारी वन क्षेत्रमा पहिचान नखुलेका शवलाई गाड्न थालेको हो। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार सोमबार ४० देखि ५० जनासम्मको शव व्यवस्थापन गरिएको छ। मंगलबार साँझसम्म थप गरी करिब ७० देखि ८० जनाको शव गाडिने उनले जानकारी दिए। उनका अनुसार अहिले शवलाई आफन्तले पछि दाबी गर्न आएमा आवश्यक प्रक्रिया पूरा गरी सहज रूपमा निकाल्न सकिने गरी व्यवस्थापन गरिएको छ। गाडिएका शवको डीएनए नमुनासमेत सुरक्षित राखिएको प्रशासनले जनाएको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बाढी तथा पहिरोबाट मृत्यु भएका ११४ वटा शव ल्याइएको अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले जानकारी दिए। तीमध्ये सोमबार ४८ र मंगलबार २२ वटा शव व्यवस्थापनका लागि पठाइएको तथा बाँकी शव पनि पठाउने प्रक्रिया भइरहेको उनले बताए। अस्पतालमा ल्याइएका शवमध्ये हालसम्म ९ जनाको मात्र पहिचान खुलेको छ। बाँकी शव अत्यधिक क्षतविक्षत अवस्थामा रहेकाले पहिचान गर्न कठिन भइरहेको अस्पतालले जनाएको छ। बाढी र पहिरोको लेदोसँगै बगेका कारण शवमा गम्भीर चोट लागेको, शरीरका विभिन्न भागमा क्षति पुगेको र लामो समय पानीमा रहेका कारण सुन्निएको रोस्याराले बताए। गर्मीका कारण शव थप गल्न थालेपछि पहिचान गर्न झनै कठिन भएको उनको भनाइ छ। शव पहिचानका क्रममा मृतकले लगाएका कपडा, हुलिया, औँठाछाप, शरीरमा रहेका ट्याटु तथा अन्य पहिचानयोग्य चिह्नलाई आधार बनाइएको छ। आवश्यक अवस्थामा अन्तिम पुष्टि गर्न डीएनए परीक्षणसमेत गरिएको अस्पतालले जनाएको छ। अहिले गाडिएका शवको पनि डीएनए नमुना सुरक्षित राखिएको छ। प्रशासनका अनुसार भविष्यमा आफन्तले आफ्नो परिवारको सदस्य भएको दाबी गरेमा आवश्यक पहिचान प्रक्रिया पूरा गरी शव उत्खनन गरेर बुझाउन सकिने व्यवस्था गरिएको छ।