काठमाडौँ – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने सम्मीलित लाहोर क्वालेण्डर्सले पीएसएलअन्तर्गत बुधबार क्वेटा ग्लाडियटर्ससँग खेल्दै छ।
दुबईमा जारी प्रतियोगिता अन्तर्गतको खेल नेपाली समयअनुसार बुधबार साँझ ५ः१५ बजे शुरु हुनेछ। पछिल्ला पाँच खेलको नतिजा हेर्दा लाहोरविरुद्ध क्वेटा हाबी रहेको छ। यसअघिका पाँचै खेल क्वेटालले आफ्नो पक्षमा पारेको छ। जसका कारण बुधबारकाे खेलमा लाहोर इतिहास उल्ट्याउने लक्ष्यकासाथ मैदानमा उत्रिने निश्चित छ।
पाँच खेलबाट ४ जीत निकाल्दै ८ अंककासाथ क्वेटा लिग तालिकाको शीर्ष स्थानमा रहेको छ। त्यस्तै समान खेलबाट ३मा हार र २मा जीत निकालेको लाहोर ४ अंककासाथ तालिकाको चौथो स्थानमा सिमित छ।
आजको खेल सन्दीपका लागि जारी प्रतियोगिताको तेस्रो खेल हुनेछ। बिग बास लिगका लागि अस्ट्रेलियामा रहेका सन्दीपले शुरुआती ३ खेल गुमाएका थिए। यद्यपि सन्दीपले दुई खेलमा ४ विकेट चट्काइ सकेका छन्।
क्वेटाविरुद्ध नै शनिबार सम्पन्न खेलमा सन्दीपले ४ ओभरमा २० रन खर्चिएर १ विकेट लिएका थिए। उक्त खेलमा लाहोर ३ विकेटले पराजित भएको थियो।