काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटको प्रस्तुति र भाषाशैलीलाई नयाँ तथा आकर्षक भएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले गोरखाको गाउँमा बसेर अर्थमन्त्रीको बजेट भाषण सुन्दा ‘रोमान्चक अनुभूति’ भएको बताएका हुन् ।
उनले बजेटको शब्द चयन र प्रस्तुति नयाँ रहेको उल्लेख गर्दै नीति तहमा नयाँ प्रविधिमैत्री पुस्ता, निजी क्षेत्र, विदेशमा रहेका नेपाली तथा कर्मचारीलाई आकर्षित गर्ने प्रयास गरिएको बताएका छन् ।
भट्टराईले बूढीगण्डकी जलविद्युत् आयोजना अधिकारसम्पन्न प्राधिकरणमार्फत निर्माण गर्ने घोषणा सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । उक्त मोडालिटी आफूले सुरुमै प्रस्ताव गरेको भन्दै लामो अन्योलपछि त्यसतर्फ सरकार गएकोमा केही सन्तोष लागेको उल्लेख गरेका छन् ।
तर बजेटको समग्र संरचनात्मक पक्षमा भने उनले प्रश्न उठाएका छन् । आय–व्ययको अनुपात, राजस्वको स्रोत, क्षेत्रगत विनियोजन तथा वित्तीय संघीयताको ढाँचामा खासै परिवर्तन नदेखिएको उनको टिप्पणी छ ।