काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेका छन् ।
पार्टी स्थापनाको ३६ औँ वर्ष प्रवेशका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले आयोगको प्रतिवेदनलाई गम्भीर रूपमा लिएर कार्यान्वयन प्रक्रिया अघि बढाउनुपर्ने बताए । लिङ्देनले मानव अधिकार आयोगले दोषी ठहर्याएका वा प्रारम्भिक रूपमा दोषी देखिएका व्यक्तिहरूले समेत छिटो कानुनी प्रक्रिया पूरा गरी सफाइ लिनुपर्ने आवश्यकता औँल्याए ।
उनका अनुसार मानव अधिकार आयोगका प्रतिवेदनहरू केवल राष्ट्रिय स्तरमा मात्र सीमित नहुने भएकाले यस्ता विषय अन्तर्राष्ट्रिय मानव अधिकार निकाय तथा संयुक्त राष्ट्रसंघसँग पनि सम्बन्धित रहने भएकाले थप संवेदनशील भएर हेर्नुपर्ने हुन्छ । उनले सरकारलाई तत्काल प्रतिवेदन कार्यान्वयनतर्फ अग्रसर हुन आग्रह गर्दै यसलाई गम्भीर विषयका रूपमा लिनुपर्नेमा जोड दिए । त्यसैगरी, अध्यक्ष लिङ्देनले आफ्नो पार्टी मुलुकको एकमात्र वैकल्पिक राजनीतिक शक्ति भएको दाबी गर्दै पार्टी पंक्तिलाई निराश नभई एकताबद्ध भएर अघि बढ्न आह्वान गरे ।