काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई नभएको बताएका छन् ।
गणतन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्– 'नेपालको संविधानले सुनिश्चित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र विभिन्न कालखण्डमा नेपाली जनताले गरेको लामो सङ्घर्ष, हजारौँ सहिदहरूको बलिदान, त्याग र समर्पणको ऐतिहासिक उपलब्धि हो। यो व्यवस्था कुनै व्यक्ति वा दलको नभएर परिवर्तनका आकाङ्क्षी सम्पूर्ण नेपाली जनताको साझा उपलब्धि हो। तसर्थ, संविधानको मूल मर्मबाट पछि हट्ने वा यसका मूल्य, मान्यता र उपलब्धिमाथि सम्झौता गर्ने छुट कसैलाई छैन।'
'संविधानको कार्यान्वयनमा देखिएका कमजोरीहरूलाई सच्याउँदै, राज्य सञ्चालनको प्रक्रियामा विद्यमान परम्परागत परिपाटी र स्वेच्छाचारिताको अन्त्य गर्नु आजको आवश्यकता भएको उनले उल्लेख गरेका छन् ।
जनताको अधिकार, लोकतान्त्रिक मूल्य र समावेशितालाई अझ सुदृढ बनाउँदै अघि बढ्नु नै साँचो अर्थमा गणतन्त्रप्रतिको सम्मान हो। 'गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र हो।' त्यसका लागि समावेशी, पूर्ण समानुपातिक व्यवस्था सुनिश्चित गर्दै उपेक्षित, उत्पीडित वर्ग, समुदाय र क्षेत्रका अधिकारलाई झनै मजबुत बनाउनु अपरिहार्य छ', प्रचण्डले भनेका छन् ।