काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र नेपाली समाजको चेतनामा आएको गहिरो रूपान्तरण भएको बताएका छन् ।
शुक्रबार गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले गणतन्त्र शासन प्रणाली परिवर्तन मात्र नभई नेपाली समाज ‘प्रजा’ बाट सार्वभौम नागरिकमा रूपान्तरित भएको ऐतिहासिक उपलब्धि भएको उल्लेख गरेका हुन् ।
ओलीले आजभन्दा १८ वर्षअघि नेपाली जनताले आफ्नै निर्वाचित संविधानसभामार्फत गणतन्त्र घोषणा गरेको स्मरण गर्दै जनताले आफ्ना लागि आफैंले शासन प्रणाली निर्धारण गर्ने अधिकार प्राप्त गर्न सात दशकभन्दा लामो संघर्ष गर्नुपरेको बताए ।
उनले बोल्ने, लेख्ने, संगठित हुने तथा राजनीतिक विचार राख्ने अधिकार स्थापित गर्न हजारौं अग्रजले बलिदान दिएको उल्लेख गर्दै लोकतान्त्रिक अधिकार स्थापनाका लागि जीवन उत्सर्ग गर्ने अमर शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।