काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगद्वारा सार्वजनिक गरिएको भदौ २३–२४ को आन्दोलन सम्बन्धी अनुसन्धान प्रतिवेदनप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका प्रवक्ता देवराज चालिसेद्वारा बिहीबार (जेठ १४ गते) जारी प्रेस विज्ञप्तिमा विगतको सरकारले गठन गरेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अपूर्ण रहेको दाबी गर्दै कार्कीमाथि नै सूक्ष्म अनुसन्धान गर्न सरकारसँग माग गरिएको छ।
नेपाली कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले कार्की आयोगको प्रतिवेदनलाई अपर्याप्त देखाएको र स्वयं अनुसन्धान आयोगकै अध्यक्षमाथि दोष देखाएकाले विगतको प्रतिवेदन निष्पक्ष नभएको पुष्टि भएको उल्लेख गरेको छ। आम चुनाव हुनुपूर्व सो प्रतिवेदन सार्वजनिक नगर्नुमा नियोजित उद्देश्य रहेको कांग्रेसको आशंका छ।
विज्ञप्तिमा भनिएको छ, “आन्दोलनको प्रारम्भिक चरण संविधानप्रदत्त अभिव्यक्तिको स्वतन्त्रता र सुशासनको मागसँग सम्बन्धित रहे पनि त्यसपछि आन्दोलनका नाममा योजनाबद्ध हिंसात्मक घुसपैठ भएको छ।“ सरकारी र निजी सम्पत्तिमाथि ध्वंस, आगजनी, हत्या, र लुटपाट जस्ता अराजक गतिविधिमा संलग्न जिम्मेवार व्यक्ति तथा सांसदहरूमाथि समेत थप अनुसन्धान गरी कारबाही गर्न कांग्रेसले जोड दिएको छ।
कांग्रेसले शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाउने, सार्वजनिक सम्पत्ति तोडफोड गर्ने र निर्दोष नागरिकको ज्यान लिने कार्यमा संलग्न जोसुकै ओहोदामा भए पनि कुनै राजनीतिक संरक्षण वा दलगत पहुँचबिना मुलुकको अपराध संहिता अनुसार कडा कारबाही हुनुपर्ने माग गरेको छ।
नेपाली कांग्रेसले लोकतन्त्रलाई भीडतन्त्रको रूपमा स्वीकार गर्न नसकिने र राज्यले प्रदर्शन गर्ने क्रूरता पनि सर्वथा अनुचित हुने मान्यता राखेको छ। “हामीलाई अराजक हिंसा तथा राज्यद्वारा भएको असंयमित बल प्रयोग दुवै अस्वीकार्य छ। लोकतन्त्रको शक्ति नागरिक स्वतन्त्रता, संस्थागत संयम, विधिको शासन र उत्तरदायी सरकारमा निहित हुन्छ,“ विज्ञप्तिको अन्त्यमा भनिएको छ।

