काठमाडौँ । पूर्वी पहाडको मुख्य यातायात मार्गका रूपमा परिचित मेची राजमार्गको इलामस्थित माईखोला–राजदुवाली–गोलाखर्क भञ्ज्याङ खण्डमा सडक भासिने समस्या गम्भीर बन्दै गएको छ। करिब तीन किलोमिटर क्षेत्रमा सडक लगातार धसिँदा यातायात सञ्चालनसँगै स्थानीय बासिन्दाको सुरक्षा र दैनिकीसमेत प्रभावित बनेको छ।
स्थानीयका अनुसार २०७२ सालको भूकम्पपछि यस क्षेत्रमा सडक चिरिने र भासिने समस्या सुरु भएको हो। सुरुमा सामान्य देखिएको समस्या अहिले भने गहिरो धसाइमा परिणत भएको छ। वर्षायाम सुरु भएसँगै जोखिम अझ बढ्ने गरेको स्थानीयले बताएका छन्। स्थानीय बासिन्दाले सडक भासिनुको कारण पुवाखोला जलविद्युत आयोजनाको सुरुङ हुन सक्ने आशंका व्यक्त गरेका छन्। ६।२ मेगावाट क्षमताको उक्त आयोजना अन्तर्गत सुरुङमार्फत पानी माईखोलातर्फ मोडिएको छ। स्थानीयको भनाइ अनुसार सुरुङ निर्माणपछि भूमिगत पानीको प्राकृतिक बहाव परिवर्तन भएको र विभिन्न स्थानमा नयाँ पानीका मुहान देखिन थालेका छन्।
यद्यपि, सुरुङबाट हुने पानी चुहावट (सिपेज) नै सडक धसिनुको मुख्य कारण हो भन्ने पुष्टि गर्ने आधिकारिक अध्ययन भने हालसम्म भएको छैन। बढ्दो चिन्ता र स्थानीय दबाबपछि जिल्ला प्रशासन कार्यालय इलामको नेतृत्वमा सडक डिभिजन कार्यालय, सुरक्षा निकाय, सञ्चारकर्मी तथा पुवाखोला जलविद्युत केन्द्रका प्रतिनिधिसहितको टोलीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो। अनुगमनका क्रममा सुरुङभित्र केही स्थानमा सामान्य पानी चुहावट देखिएको भए पनि यही कारणले सडक भासिएको हो भनेर निष्कर्ष निकाल्न नमिल्ने प्राविधिकहरूले बताएका छन्। सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराई ले सुरुङको केही भाग मर्मत गर्नुपर्ने देखिएको बताए। तर सडक धसिनुको प्रत्यक्ष कारण पत्ता लगाउन विस्तृत प्राविधिक अध्ययन आवश्यक रहेको उनको भनाइ छ।
त्यस्तै पुवाखोला जलविद्युत केन्द्रका प्रमुख पिताम्बर भुसाल ले भूगर्भीय समस्या जटिल प्रकृतिको हुने भएकाले तत्काल कसैलाई दोष दिन नमिल्ने बताए। उनले विशेषज्ञ टोलीमार्फत थप अध्ययन गरिने जानकारी दिए। प्राविधिकहरूका अनुसार पहाडी क्षेत्रमा सडक भासिनुमा कमजोर भू–बनोट, भूकम्पको प्रभाव, भूमिगत पानीको बहाव परिवर्तन तथा मानव निर्मित संरचनाको संयुक्त असर हुन सक्छ। दैनिक सयौँ सवारी सञ्चालन हुने यो खण्डमा ठूलो दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै स्थानीयले दीर्घकालीन समाधानको माग गरेका छन्।