काठमाडौं ।परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीचको सम्बन्ध अहिले राम्रो अवस्थामा रहेको बताएका छन्।
न्यूयोर्कमा आयोजित एसिया सोसाइटीको कार्यक्रममा उनले दुई देशबीचको सम्बन्धलाई बहुआयामिक र दीर्घकालीन सहकार्यमा आधारित भएको बताएका हुन्।खनालले नेपाल–भारत सम्बन्धलाई अब व्यावहारिक सहकार्य, व्यापार, ऊर्जा र सम्पर्क विस्तारका अवसरसँग जोडेर अघि बढाउनुपर्ने धारणा राखे। उनका अनुसार नेपालको वैदेशिक व्यापारमा भारतको ठूलो हिस्सा रहेकाले आर्थिक सहकार्य दुई देशको सम्बन्धको महत्वपूर्ण आधार हो।उनले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा भारतीय विदेशमन्त्री एस जयशंकरसँग भएको भेटवार्ताबारे पनि जानकारी दिए। भेटमा द्विपक्षीय सम्बन्ध, साझा चासोका विषय, विकास साझेदारी तथा ऊर्जा सहकार्यबारे छलफल भएको थियो।
भारतसँगको ऊर्जा सहकार्यलाई नेपालले आर्थिक विकासको महत्वपूर्ण अवसरका रूपमा हेरेको बताउँदै खनालले जलविद्युत् उत्पादन र क्षेत्रीय ऊर्जा व्यापार विस्तारमा जोड दिए। नेपालमा उत्पादन हुने स्वच्छ ऊर्जा भारत हुँदै बंगलादेशसम्म निर्यात गर्न सकिने सम्भावनासमेत उनले उल्लेख गरे।भारत र चीन दुवैसँग नेपालले सम्बन्धलाई व्यावहारिक र आर्थिक सहकार्यमा केन्द्रित गर्न खोजिरहेको खनालको भनाइ थियो। उनले दुई छिमेकीतर्फका सम्पर्क सञ्जाललाई प्रतिस्पर्धी विकल्पका रूपमा नभई नेपालको आर्थिक विकासका लागि उपयोग गर्नुपर्ने धारणा राखे।नेपाललाई भौगोलिक रूपमा दुई ठूला मुलुकबीचको भू–आबद्ध राष्ट्र मात्र नभई आर्थिक, डिजिटल तथा रणनीतिक सम्पर्कको केन्द्रका रूपमा विकास गर्न सकिने उनको भनाइ थियो।