विराटनगर । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिएका आन्तरिक मतभेद र असन्तुष्टिलाई व्यवस्थापन गर्दै सबै नेताहरूलाई एकजुट भएर अगाडि बढ्न आह्वान गरेका छन् ।
शनिबार विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले यस्तो बताएका हुन् ।सभापति थापाले पार्टीभित्रका आन्तरिक विमतिहरूलाई स्वाभाविक रूपमा लिँदै त्यसलाई मिलाएर लैजानु नै आफ्नो प्रमुख कर्तव्य भएको बताए ।
विशेषगरी पार्टीका केही वरिष्ठ र प्रभावशाली नेताहरू जो अहिले केन्द्रीय समितिभन्दा बाहिर छन्,उनीहरूलाई मूलधारमा ल्याउने वातावरण बनाउन आफू तयार रहेको उनले स्पष्ट पारे ।
थापाले पार्टीका विभिन्न समितिहरू जस्तै सदस्यता व्यवस्थापन समिति, अनुशासन समिति र निर्वाचन समिति गठन गर्दा सबैको सल्लाह र चित्त बुझ्ने गरी बनाउने धारणा राखे । उनले कुनै पनि तहबाट अवरोध सिर्जना हुनु पार्टी हितमा नरहेको समेत बताए ।