जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत पाएका छन् । सत्ता साझेदार दल जनमत पार्टीले गत वैशाख २२ गते सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले शुक्रबार प्रदेश सभाको विशेष बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गरेका थिए ।
मतदान प्रक्रियामा कुल उपस्थित १ सय जना सांसदहरूमध्ये मुख्यमन्त्री यादवको पक्षमा ६२ मत परेको थियो भने विपक्षमा ३६ मत खसेको थियो। यो संख्या प्रदेश सभामा उपस्थित सदस्यहरूको दुई तिहाइभन्दा बढी रहेकाले सभामुखले मुख्यमन्त्री यादवले सदनको विश्वास प्राप्त गरेको घोषणा गरे । मतदान सम्पन्न भएसँगै मधेश प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ।
नयाँ सत्ता समीकरण र बदलिएको राजनीतिक परिदृश्यका माझ मुख्यमन्त्री यादवलाई नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका सत्ता गठबन्धन आबद्ध दलहरूले विश्वासको मत दिएका थिए। हालै मात्र जनता समाजवादी पार्टी ९जसपा० नेपालका मन्त्रीहरूलाई बर्खास्त गरी नेकपा एमालेलाई सरकारमा समाबेश गरेपछि मधेशको राजनीतिले नयाँ मोड लिएको हो।
अर्कोतर्फ, सरकारको विपक्षमा जनमत पार्टी, जसपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले मतदान गरेका थिए। जनमत पार्टीको बहिर्गमन र जसपा नेपालसँगको सम्बन्ध विच्छेदपछि पनि प्रमुख दलहरूको बलियो साथका कारण मुख्यमन्त्री यादवले प्रादेशिक सत्तामा आफ्नो बहुमतलाई सुरक्षित राख्दै सरकारलाई निरन्तरता दिन सफल भएका छन् ।