काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले ल्याएको सबै अध्यादेश राष्ट्रियसभाबाट स्वीकृत नहुने बताएका छन्।
कोशी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै आफूहरूले नीति तथा कार्यक्रम र बजेटमा सरकारलाई अफ्ठेरो नपारेपछि सबै अध्यादेश स्वीकृत गर्न नसकिने बताए।
उनले भने, ‘अहिले अध्यादेश अस्वीकृत गर्ने कुरा राष्ट्रिय सभामा छ। हामी सबै अध्यादेश अस्वीकृत गर्नु हुँदैन भनिरहेका छौँ। सहकारीसँग जोडिएको विषयको अध्यादेश छ, अरू अध्यादेशहरू छन्, यी अध्यादेशहरू अगाडि बढ्न दिनुपर्छ। संवैधानिक परिषद्सँग जोडिएको अध्यादेश र अरू बाँकी रहेका नागरिकका मौलिक अधिकारहरू खण्डित गर्ने कानुन ल्याएर ल्याएको अध्यादेशका सन्दर्भमा यसलाई रोक्नुपर्छ।’
उनले भदौ घटनाबारे मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे।
उनले भने, ‘मानव अधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नैपर्छ। र भदौ २४ गतेका सन्दर्भमा त्यसको न्यायिक छानबिन गरेर साँच्चिकै जसले आपराधिक मनोवृत्ति राखेर २४ गते काम गरेका छन्, तिनी दोषी कानुनको कठघरामा आउनैपर्छ।’
उनले मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको स्रोत जनतालाई देखाउनुपर्ने बताए। सरकारले बनाएको संविधान संशोधन कार्यदलमाथि पनि प्रश्न उठाए।