काठमाडौँ। चीनमा ड्रोन प्रविधिको प्रयोग विभिन्न क्षेत्रमा तीव्र रूपमा विस्तार हुँदै गएको छ । मध्य चीनको हुबेई प्रान्तस्थित यिचाङ शहरमा हाल डढेलो नियन्त्रणका लागि ड्रोनको प्रयोग गरिएको छ ।
हालै गरिएको परीक्षणमा एक स्वायत्त अग्निनियन्त्रक ड्रोनले करिब ५० मिटर उचाइबाट आगो निभाउने विशेष पोड खसालेको थियो । सो पोड जमिनमा ठोक्किएपछि विस्फोट भई आगो नियन्त्रणमा आएको बताइएको छ । प्राविधिक लु युहेङका अनुसार उक्त ड्रोन प्रति सेकेन्ड करिब १५ मिटरको गतिमा सञ्चालन हुन्छ र तीन किलोमिटर क्षेत्रभित्र पाँच मिनेटमै आपतकालीन स्थानमा पुग्न सक्छ । डढेलो नियन्त्रण मात्र होइन, चीनमा ड्रोनलाई पर्यटन प्रवर्द्धनका लागि पनि प्रयोग गर्न थालिएको छ । क्यूआर कोड स्क्यान गरेपछि स्वतः उड्ने र दृश्य तथा फोटो खिच्ने सुविधा भएको ड्रोनले पर्यटकलाई आकर्षित गरिरहेको छ । विशेषज्ञहरूका अनुसार यस्तो प्रविधिको विकाससँगै चीनको ड्रोन बजार सन् २०३५ सम्म करिब ५१० अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।