काठमाडौँ । मतदानका लागि खटिएका कर्मचारीहरू दुर्घटनामा परेपछि रामेछापका तीन मतदान केन्द्रका लागि थप कर्मचारी र निर्वाचन सामग्री पुनः पठाइएको छ। रामेछाप जिल्लाको रामेछाप नगरपालिका–२ स्थित देउरालीको शीतलादेवी मावि र सिरुवारी मतदान केन्द्र तथा वडा नम्बर ३ को साँघुटारस्थित वडा कार्यालय भवन मतदान केन्द्रका लागि कर्मचारी र सामग्री पठाइएको हो।
यसअघि मतदान सामग्री र कर्मचारी बोकेको गाडी सोमबार अपराह्न देउरालीको सिरुवारीमा दुर्घटनामा परेको थियो। दुर्घटनामा प्रहरी सहायक निरीक्षक परशुराम यादव र साँघुटारका मतदान अधिकृत डोरप्रसाद घिमिरेको मृत्यु भएको थियो भने अन्य सात जना कर्मचारी घाइते भएका थिए। घाइतेहरूको उपचार काठमाडौं जिल्लाको सैनिक अस्पतालमा भइरहेको छ।
मतदान अधिकृतको मृत्यु र कर्मचारी घाइते भएपछि ती केन्द्रमा नयाँ कर्मचारी पठाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ। दुर्घटनामा क्षतिग्रस्त भएका मतपत्र, मतपेटिका लगायतका निर्वाचन सामग्रीको सट्टामा नयाँ सामग्रीसमेत पठाइएको छ। यसैबीच दुर्घटनामा ज्यान गुमाएका घिमिरेको मंगलबार मन्थली नगरपालिकाको तामाकोसीमा अन्त्येष्टि गरिएको छ। उनी रुद्राक्षेश्वर माध्यमिक विद्यालय, मन्थलीमा निमावि द्वितीय शिक्षक थिए। असई यादवको शव भने गृह जिल्ला सप्तरी जिल्ला लगिएको प्रहरीले जनाएको छ।