काठमाडौँ । जनकपुरधामस्थित उच्च अदालत जनकपुरधामका कर्मचारीहरूले ‘पेन डाउन’ गरेका छन् । सर्लाहीमा गत आइतबार राति सब-इन्जिनियर प्रमोद कुमार यादवको गोली प्रहार गरी हत्या भएको घटनाप्रति उच्च अदालत जनकपुर, धनुषामा कार्यरत कर्मचारीहरूले ‘पेन डाउन’ गर्नुका साथै घटनामा संलग्न अपराधीलाई कारबाहीको माग गरेका छन् ।
उनीहरूले मृतक राष्ट्रसेवक कर्मचारीलाई शहीद घोषणा गरी परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन पनि आग्रह गरेका हुन् । मृतक परिवारका सदस्यलाई सरकारले जागिर समेत दिनुपर्ने उनीहरूले माग छ ।
हाल आसन्न निर्वाचनको सन्दर्भमा कर्मचारीहरू फिल्ड र कार्यालय दुवैमा खटिनुपर्ने अवस्था रहेको उल्लेख गर्दै यस्तो घटनाले कर्मचारीको मनोबल घटाएको कर्मचारीहरूको भनाई छ । कर्मचारीहरूको पूर्ण सुरक्षा ग्यारेन्टी गर्न तथा कार्यक्षेत्र र व्यक्तिगत सुरक्षाको प्रत्याभूति गराउन राज्यसँग उनीहरूले माग गरेका हुन् ।
सिराहाको खुसीपुर नगरपालिका-६ वैशाख घर भएका सब इन्जिनियर ३६ वर्षीय प्रमोदकुमार यादवको गत आइतबार राति मलङ्गवा नगरपालिका-१० स्थित डेरामा अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या गरेका थिए । मोटरसाइकलमा आएका व्यक्तिले सब इन्जिनियर यादवलाई कोठाबाहिर बोलाएर गोली प्रहार गरेका थिए । उनको देब्रे छातीमा गोली लागेको थियो ।